प्रथम टि–२० मेयर कप क्रिकेटको उपाधि राजविराजलाई

विराटनगर । विराटनगरमा जारी प्रथम टि- २० मेयरकप क्रिकेटको उपाधि मधेश प्रदेशको सप्तरी राजबिराजले जितेको छ ।

मधेश प्रदेशकै राजधानी जनकपुरलाई हराउँदै राजबिराजले उपाधी सँगै नगद १ लाख १ हजार र ट्रफी हात पार्यो । विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा सम्पन्न खेलको उपबिजेता जनकपुरले ५१ हजार र ट्रफी हात पार्यो ।

विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै राजबिराजले उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँडै ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजकालागि नेपालको अन्तर्राष्ट्रिय ब्याट्सम्यान विवेक यादवले २१ बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याट्सम्यान महबुब आलमले १४ रन,अभिशेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाउनु भयो । जनकपुरका सुमन राँयले ४ ओभरमा एक रन दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले२–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिनुभयो ।

९८ रनको सामान्य लक्ष्य पाएको जनकपुर २० ओभर खेल्दै ८७ रनमा सिमित सिमित हुन पुग्यो । जनकपुरकालागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकवर अली र रन्जित यादवले ११–११ रनको योगदान दिनुभयो । राजविराजका विकाश दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र महबुव आलम १ विकेट लिनुभयो । फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराउण्डर खेलाडी विवेक यादव घोषित हुनुभयो । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित हुनुभयो । उहाँले नगद ११ हजार पुरस्कार प्राप्त गर्नुभयो । उत्कृष्ट ब्याट्सम्यान राजविराजका विकाश दास र उत्कृष्ट बलर राजविराकै अनिल यादव घोषित हुँदै ५–५ हजार पुरस्कार पाउनुभयो ।

विजयी तथा अन्य खेलाडीलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, राखेपका पूर्व सदस्य सचिव सुधिर अर्याल, होराइजन क्रिकेट क्लवका अध्यक्ष सुनिल पौडेल, नेपालका पूर्व अन्तर्राष्टिय खेलाडी पारस लुनिया, पूर्वाञ्चलका पूर्व प्रशिक्षक राजकुमार दास र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेलगायतले पुरस्कार तथा ट्रफि वितरण गर्नुभयो ।

प्रतियोगितामा प्रदेश १ को आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मधेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम उपनगरपालिका र राजविराज नगरपालिका सहभागि भएका थिए ।

Back to top button