आज रामनवमी, राम मन्दिरहरुमा घुईँचो

विराटनगर । आज चैत्र शुक्ल नवमी अर्थात रामनवमी । आज मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।

असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको धार्मिक विश्वास रहि आएको छ ।

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले मनोकांक्षा पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको विश्वास छ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रूपमा रामले अयोध्यामा राज्य गरेकाले उहाँको शासन काललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ। आज देशभरका राममन्दिरहरुका बिषेश मेला लाग्नेगरेको छ । भने दशर्नार्थीहरुको घुईँचो रहेको छ । आज सरकारले सार्जजनिक विदा समेत दिएको छ ।

Back to top button