नोबेल अस्पतालका चिकित्सकको मृत्यु प्रकरणः पोष्टमार्टमबाट देखिएन हत्या

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत चिकित्सक २६ वर्षीय विजय यादवको मृत्युको एकिन कारण अझै पत्ता लाग्न सकेको छैन ।

परिवारका सदस्य र आफन्तले उहाँको हत्या भएको दाबी गर्दै आएका छन् । तर पोष्टपार्टम रिपोर्टमा भने हत्याको पुष्टि हुन सकेन । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गरिएको थियो ।

प्रहरीलाई प्राप्त रिपोर्ट अनुसार कुटपिट वा आक्रमण गरेर डा. विजयको हत्या गरिएको कुरा पोस्टमार्टम रिपोर्टबाट खुल्न सकेको छैन भने शरीरका बाहिरी भागमा चोटपटक पनि नभएको रिपोर्टमा उल्लेख छ । प्रहरी स्रोतका अनुसार टाउको र शरीरका भित्री भागमा मात्रै चोट रहेको भनिएको छ । पोस्टमार्टम रिपोर्टले ‘इन्टरनल इन्जुरी’ मात्रै देखाएको छ ।

डेरा बसेको घरको माथिल्लो तलाबाट खसालेर उहाँको हत्या गरिएको हो कि भन्ने सम्भावना भने जिवितै रहेको प्रहरी स्रोतको भनाइ छ । भिसेरा परीक्षण रिपोर्टको पर्खाइमा रहेको प्रहरी त्यसबाट मृत्युको कारण यकिन हुने विश्वासमा छ ।

डेरा बस्ने घर अगाडि घोप्टो परेको अवस्थामा विजयको शव भेटिएको थियो । शवको प्रकृति हेर्दा नाक र मुखबाट रगत बगेको थियो भने देब्रे खुट्टामा मात्रै जुत्ता थियो । दाहिने खुट्टाको जुत्ता डेरा बसेको घरको तेस्रो तलाको कोठाअगाडि बार्दलीमा थियो ।

प्रहरीले घटनाको प्रकृति हेरेर हत्याकै अनुमान गरेर अनुसन्धान अघि बढाएको छ । यद्यपि अहिलेसम्म हत्यासँग जोडिएको कुनै प्रमाण फेला नपरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले डा. विजयसँगै होटलमा राति अबेरसम्म खानपिन गर्ने दुईसहित आठ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान समेत गरिरहेको छ ।

यस्तै सिसी टिभी फुटेज, कल डिटेल रिपोर्ट (सिडीआर) समेतका आधारमा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले विभिन्न कोणबाट सुक्ष्म ढङ्गले घटनाको अनुसन्धान भइरहेको बताउनुभएको छ । उहाँले गम्भिर रुपमा अनुस्न्धान भइरहेको भन्दै निष्कर्षमा पुग्न केहि समय लाग्ने बताउनुभएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भई नोबेल अस्पतालमा कार्यरत डा. विजय विराटनगर–४ स्थित डेरा बसेकै घरको कम्पाउण्डमा अघिल्लो शनिबार मृत फेला पर्नुभएको हो ।

उहाँको मृत्यु नभई हत्यो भएको भन्दै गम्भिर अनुसन्धानका लागि दवाव दिन हिजो आफन्तहरुले विराटनगरमा प्रदर्शनसमेत गरेका छन् । घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको ध्यानाकर्षण समेत गराएका छन् ।

घटनाको अनुसन्धानका लागि दबाब दिन हिरा यादवको नेतृत्वमा डा. विजय न्याय सङ्घर्ष समिति नै गठन गरिएको छ । समितिका संयोजक यादवले विजयको हत्या योजनावद्ध तरिकाले गरिएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभएको छ ।

Back to top button