विराट व्यापार ट्रेड एक्स्पो आज अन्तिम दिन, साँझ एड्रिन प्रधानको प्रस्तुति हुने

निशान्त ढुङ्गाना,

विराटनगर । विराटनगरको शंकरपुर मार्गमा आयोजित ‘विराट व्यापार ट्रेड एक्स्पो–२०२२’ को आज औपचारिक रुपमा समापन गरिएको छ ।

प्रदर्शनी स्थलमा आयोजक संस्था मोरङ व्यापार संघले समापन समारोहको आयोजना गर्दै एक्स्पो औपचारिकरुपमा सम्पन्न भएको घोषणा गरेको हो ।

मोरङ व्यापार संघका अध्यक्ष नबिन रिजालको अध्यक्षता सम्पन्न कार्यक्रम गर्दै एक्स्पोका संयोजक विकास बेगवानीले एक्स्पो समापन भएको घोषणा गर्नु भएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले विराटनगरमा कोरोना महामारीको प्रकोप केहि हदसम्म मत्थर भएको बेला आफुहरुले गरेको कार्यक्रम लाई विराटनगर तथा प्रदेशवासीहरुले सकारात्मक रुपमा ग्रहण गरिदिएको भन्दै धन्यवाद दिनुभयो ।

उहाँले यसले आफूहरुमा उर्जा थपिएको बताउनुभयो । अध्यक्ष रिजालले विराटनगरमा यस्तै किसिमको कार्यक्रम गर्न निश्चित स्थानको अभाव रहेको बताउँदै राज्यले स्थान दिए ब्यापारीहरुले अझ राम्रो यस्तै किसिमका एक्स्पो आयोजना गर्ने बताउनुभयो ।

 कार्यक्रममा जिल्लामा रहेको उद्योगी तथा ब्यबसायी संघसंस्थाको प्रतिनिधित्व गर्दै उद्योग संगठन, मोरङका अध्यक्ष सुयेश प्याकुरेलले मोरङ व्यापार संघ तथा उद्योग संगठनले पालो–पालो विराटनगरमा एक्स्पो सञ्चालन गर्दै आएकोले अर्को बर्ष एक्स्पो सञ्चालन गर्न थप उत्साह तथा प्रेरणा थपिएको बताउनु भयो।

समापन समारोहका मुख्य अतिथि तथा प्रदेश नं १ को मुख्यमन्त्री राजेन्द्र कुमार राईले एक्स्पोको अवलोकन आफुलाई ज्ञानबर्दक रहेको बताउँदै यस्तै कार्यक्रममा सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो । उहाँले ब्यवसायी, उद्यमीहरुले राज्यसँग अपेक्षा राख्दा भने राज्यको अवस्था हेरेर मात्र गर्नुपर्ने भन्दै उहाँले राज्यले नै सबै थोक गर्दिन सक्छ भन्ने विचार त्याग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा थप मोरङ व्यापार संघको पूर्व अध्यक्ष ताराचन्द खेतान , नेपाल पत्रकार महासंघ , प्रदेश नं १ अध्यक्ष लिलाबल्लब घिमिरे , नेपाली कांग्रेसको केन्द्रिय सदस्य अमृत अर्याल , नेकपा एमाले मोरङका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेललगायतले धारणा राख्नुभएको थियो ।

चैत २६ गते सम्पन्न हुने भनिएको एक्स्पो एक दिन थप गरेर आजसम्म सञ्चालन गरिएको हो । एक्स्पोको औपचारिक समापन गरिएपनि आज बेलुकासम्म सञ्चालन हुने छ । आज साँझ गायक एड्रिन प्रधान र उहाँको टीमको प्रस्तुती रहने बताइएको छ ।

Back to top button