
काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गरेर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् ।
आज संयुक्त वक्तव्य जारी गर्दै पाँच दलका शीर्ष नेताहरुले परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु परिवर्तनका विरुद्ध अझै पनि षडयन्त्र गरिरहेको जनाएका छन् ।
वक्तव्यमा नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् ।
उनीहरुले स्थानीय तहको निर्वाचन सफल पार्न पाँचदलीय गठबन्धनका उमेदवारहरूलाई मत दिएर विजयी बनाउन समेत अनुरोध गरेका छन् ।
वक्तव्यमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अशोककुमार राई र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।