विराटनगरको मेयरमा उठ्ने मेरो ब्यक्तिगत चाहना छैनः लालबाबु पण्डित

विराटनगर । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै विराटनगर महानगरपालिकाको भावि मेयर को होला भन्ने सर्वत्र चासो छ । एकातिर सत्ता गठबन्धन भित्रको तालमेलको बिषय पेचिलो बन्दै जाँदा उम्मेदवार को होला भन्ने एकिन छैन ।

अर्को तर्फ नेकपा एमालेले विराटनगर महानगरले ५ जनाको नाम उपल्लो कमिटीमा सिफारिस गरेको छ । उम्मेदवारको नाम सिफारिस पछि भने एमालेको उम्मेदवार को होला भन्ने चासो पनि उत्तिकै छ । सिफारिस भित्रबाटै उम्मेदवार बन्छन् कि बाहिरबाट खोजिएला भन्ने कौतुहलता पनि महानगरबासिमा देखिन्छ ।

एमाले विराटनगर महानगरले भने महानगर अध्यक्ष सागर थापा, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्य पर्शुराम बस्नेत, महेश भट्टराई, केन्द्रिय सदस्य रामलाल साहको नाम सिफारिस भएको छ । यद्यपी चर्चामा भने नेकपा एमालेका स्थायी समिति सदस्य लालबाबु पण्डितको नाम पनि उत्तिकै आएको छ ।

तर प्रतिनिधिसभा सदस्य समेत रहनुभएका नेता पण्डितले भने आफ्नो विराटनगरको मेयरमा उठ्ने ब्यक्तिगत चाहना नरहेको स्पष्ट पार्नुभएको छ । नेता पण्डितले कोशीसन्देशसँगको कुराकानीमा भन्नुभयो,‘मेरो ब्यक्तिगत चाहना छैन ।’

उहाँले आफू आफ्नो निर्वाचन क्षेत्रकाका विभिन्न स्थानमा पुगेर पार्टीको नाममा मत माग्दै हिँडिरहेको भन्दै बिशेष परिस्थिति र विशेष निर्णय नभए आफ्नो ब्यक्तिगत चाहना महानगरमा नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले अहिलेसम्म कँहिपनि मेयरमा उठ्ने बिषयमा नबोलेको भन्दै पार्टीले नै बिशेष निर्णय गरेर खटाएको बाहेकको अवस्थामा आफु महानगरको उम्मेदवार नहुने संकेत गर्नुभयो ।

तपाईको सक्रियता पनि राम्रै छ ? शिर्षस्थ नेताले तयारी गर्नु त भन्या छैन भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘निर्वाचन नजिँदै जाँदा पार्टीका हरेक नेता कार्यकर्ताको सक्रियता हुनुपर्छ, मेरो पनि छ । तपाईहरुले हेरिरहनुभएको छ त म कहिले सुन्दरहरैचा कहिले बुढीगंगा त कहिले विराटनगरका विभिन्न क्षेत्रमा पार्टीको लागि भोट माग्दै हिडिरहेको छु, यदि त्यस्तो हुन्थ्यो भने विराटनगर केन्द्रित हुन्थे होलानी ?’

उहाँले महानगरपालिकाको उम्मेदवार केन्द्रिय कमिटीले तय गर्ने भएकाले त्यसमा सिफारिस भएका नाम वा त्यहाँ भन्दा बाहिरका नाम पनि आउनसक्ने सम्भावना भने रहने बताउनुभयो ।

Back to top button