चुनावपछि केपी शर्मा ओलीकै नेतृत्वमा सरकार : बिष्णु पौडेल

बझाङ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावपछि केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने दाबी गर्नुभएको छ ।

बझाङमा आयोजित एमालेको जनसभामा बोल्दै उहाँले देश विकासका लागि एमाले सरकारको विकल्प नभएकोले परमादेशी सरकार जनादेशले विस्थापित गरेर नयाँ सरकार बन्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एमाले बाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका होलान्, तर अर्बका आएका छैनन् भन्दै अब एमाले सरकारमा आउँछ, अर्बौका आयोजना ल्याउछ ।’

केपी ओली प्रधानमन्त्री बन्दा चैनपुर ताक्लाकोट सडकलाई मात्रै एक अर्ब ४० करोड रुपैयाँ बजेट छुट्टाइएको स्मरण गराउँदै उहाँले एउटै सडकलाई एक अर्ब ४० करोड बजेट छुट्याउन एमालेको सरकारले मात्रै सक्ने बताउनुभयो ।  ‘त्यसैले देश विकासका लागि पनि एमालेको सरकार नै चाहिएको छ,’ उहाँले भन्नुभयो ।

अहिले चैनपुर ताक्लाकोट सडक अवरुद्ध भएको भन्दै यसलाई एमाले सरकार आएपछि सुचारु गर्ने बताउनुभयो । अबको चुनावपछि ओली एमालेको एकल बहुमतको प्रधानमन्त्री बन्ने दावी गर्दै उहाँले बिकास चाहनेले एमालेलाई साथ दिनुपर्ने बताउनुभयो ।

अहिले बनेजस्ता गठबन्धन एमालेले धेरै पटक देखिसकेको भन्दै उहाँले भन्नुभयो, ‘कस–कसले गठबन्धन गर्न सक्छन् गरे हुन्छ । कुनै गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्दैन ।’

पौडेलले गाउँ–गाउँमा कांग्रेस र माओवादीलाई एक्लै चुनाव लड्ने हिम्मत छ कि छैन भनेर सोध्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

Back to top button