देशमा आर्थिक संकट आयो भनेर गलत प्रचार भयोः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अर्थतन्त्रका सूचकहरु सार्वजनिक गर्दै अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताउनुभयो ।

आम जनमानस र व्यावसायिक जगतलाई हतोत्साहित गर्न नहुने भन्दै उहाँले यसलाई राजनीतिकरण गरेर अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो ।

उहाँले नेपाल श्रीलंकाको अवस्थामा पुगने भयो भनेर प्रचार भइरहेको भन्दै अवस्था त्यस्तो नरहेको र राजनितिको नाममा किन मुलुकलाई त्यतैतिर जाओस भन्ने चाहेको आफूले नबुझेको बताउनुभयो ।

उहाँले सतर्क भएर जान अर्थमन्त्रालय लागेको भन्दै संकट टार्न विभिन्न निर्णयहरु गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको बताउनुभएको छ । शर्माले सार्वजनिक ऋण वाञ्छित सीमाभित्रै रहेको बताउनुभयो ।

उहाँका अनुसार नेपालको कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब मात्रै रहेको जानकारी दिनुभयो । यो कुल ग्राहस्थ उत्पादनको ४३ दशमलव४ प्रतिशत हुने उहाँले बताउनुभयो । जुन दक्षिण एसियाको अन्य मुलुकको तुलनामा न्यून भएको उहाँले दाबी गर्नुभयो ।

उहाँका अनुसार चालु आर्थिक वर्षमा ४० अर्ब ६६ करोड भुक्तानी गर्नुपर्ने छ, जुन हाल रहेको वैदेशिक विनिमय सञ्चितिको तुलनामा न्यून छ ।

Back to top button