सत्तारुढ गठबन्धनको बैठक आजपनि बस्दै

काठमाडौं । स्थानीयतहको निर्वाचनका लागि भागबण्डाको ‘मोडालिटी’ टुंग्याउन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आजअपराह्न ४ बजे बैठक बस्ने भएको हो । हिजोको बैठकमा भागबण्डामा सहमति जुट्न नसकेपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपील जारी गर्दै गठबन्धनका उमेदवारहरुलाई विजयी गराउन आह्वान गर्नुभएको थियो ।

प्रमुख प्रतिपक्ष दल एमालेविरुद्ध मोर्चाबन्दी गरेको गठबन्धनले विगतका आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्न आग्रह गरेको छ।

गठबन्धनले देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर अगाडि बढ्न कार्यकर्तालाई अनुरोध गरेको छ । गठबन्धनले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचनको तालमेलको मोडालिटी तयार गर्न १० सदस्यीय समिति गठन गरेको छ।

गठबन्धनको शीर्ष नेताको बैठकमा तालमेलको मोडालिटीबारे अन्तिम टुंगो लगाइने बताइएको छ। सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय भएपछि कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस नगर्न कार्यकर्तालाई निर्देशन दिएको थियो।

उक्त निर्णयप्रति शेखर कोइराला समूहका नेताहरुले असन्तुष्ट जनाउनुभएको छ । कतिपय स्थानीय तहमा भने गठबन्धनभित्रका दलले उम्मेदवार घोषणा गरेका छन् । आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ।

Back to top button