रुसले युक्रेनमा नरसंहार गरेको अमेरिकी राष्ट्रपतिको आग्रह

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जातीय नरसंहार गराएको आरोप लगाउनुभएको छ ।

अमेरिकाको आयोवा राज्यमा आयोजित एक कार्यक्रममा बाइडेनले पुटिनले युक्रेनी हुनु नै अपराध झैँ गरेर सर्वसाधारण मानिसहरु मारिरहेको आरोप लगाउनुभएको हो ।

इन्धन समस्या सम्बन्धी कार्यक्रममा बाइडेनले परिवारको बजेट र इन्धनको मूल्य तिर्ने क्षमता आधा संसार पर रहेको कुनै तानाशाहले छेडेको युद्ध र जातीय नरसंहारमा भर पर्न नहुने बताउनुभयो ।

आफ्नो टिप्पणीको व्याख्या गर्दै बाइडेनले आफूले नरसंहार भनेको र त्यो कुरा पुटिनका क्रियाकलापका कारण झन्-झन् स्पष्ट हुँदै गएको बताउनु भएको थियो।

यसअघि अमेरिकी राष्ट्रपतिले युक्रेनको बुचा तथा अन्य सहरमा सयौँ गैरसैनिकको हत्यापश्चात् रुसलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउनुभएको थियो ।

यसैबीच युक्रेनको मारियोपोल सहरमा रुसले रासायनिक पदार्थ प्रयोग गरेका भन्ने अपुष्ट विवरणले आफूलाई चिन्तित बनाएको रासायनिक अस्त्र प्रतिबन्धसम्बन्धी अन्तर्राष्ट्रिय संगठनले जनाएको छ ।

Back to top button