
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङले माओवादी केन्द्रले चुनावी प्रचारमा आफ्नो तस्बिर राखेर दुरुपयोग गरेको बताउनुभएको छ ।
माओवादीले स्थानीय तह निर्वाचनमा घिसिङसहितको चुनावी प्रचार अभियानको पोस्टर सार्वजनिक गरेपछि उहाँको चौतर्फी आलोचना भइरहेको छ। माओवादी केन्द्रले निर्वाचन आचारसंहिताविपरीत सरकारी कर्मचारीको पोष्टर सार्वजनिक गरेको छ। आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता लागू गरिसकेको छ।
उहाँले भन्नुभयो, ‘मेरो तस्बिर नराख्नु भनेको थिएँ। मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नुभएछ। त्यसमा मेरो विमति छ।’
यसअघि माओवादीले आफ्ना चुनावी प्रचार सामग्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथै माओ, लेनिनलगायतका तस्बिर राखेर प्रचार गरिन्थ्यो। घिसिङ सार्वजनिक सेवा प्रवाह गर्ने निकायको कार्यकारी पद धारण गर्नुभएको व्यक्ति हो ।
यस्ता व्यक्तिले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ।