सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षड्यन्त्र गर्दैछः ओली (भिडियोसहित)

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धन दल स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाउनुभएको छ ।

आज विराटनगरमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ओलीले सरकारले चुनाव नगराउने षड्यन्त्र गरिरहेको भन्दै त्यसको सबैले बिरोध गर्नुपर्ने बताउनुभयो । कुनै पनि हालतमा त्यस्तो षड्यन्त्रलाई स्वीकार्न नसकिने भन्दै उहाँले भन्नुभयो, ‘चुनाव नगराउने वर्तमान सरकारको षड्यन्त्र अदालत, निर्वाचन आयोग र जनताले स्वीकार्न हुदैन ।

यस्तै, ओलीले गठबन्धन सरकारले देशको अर्थतन्त्र झन् धरासायी बनाउँदै लगेको बताउँदै भने, ‘देश टाट पल्टिने अवस्थातर्फ जाँदै छ । देशको अर्थतन्त्र झन् धरासायी हुँदै छ । हाम्रै अगाडि श्रीलङ्काको उदाहरण छ, श्रीलङ्का निकै अफ्ठेरो अवस्थामा छ ।’

यसैबिच विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले अहिले देशभक्त लोकतान्त्रिक र बिकासको नायक एमाले एकातिर र देशविरोधी परमादेशीहरुको गठबन्धन अर्कोतिर रहेको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा एमालेसँग केहि दल मिल्न सक्ने संकेत गर्दै राप्रपासँग पनि मिल्न सकिने बताउनुभयो ।

उहाँले परमादेशी सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरिरहेका बेला विप्लवलाई हतियार बनाउन सक्ने सन्देह पैदा भएपछि सूर्यबाटै निर्वाचन लड्न आह्वान गरेको समेत बताउनुभयो । मुलुकको अर्थतन्त्र एमालेले नै बिगारेको हो कसैले भन्छ भने उसमा मानसिक समस्याको सन्देह पैदा हुने बताउनुभयो ।

Back to top button