खेसरि–मुसुरि र गहुँको सिला, वालापन– नयाँवर्ष र सुनवर्षी मेला

ऋषिकेश पोखरेल,

चैत्र महिनाको प्रारम्भसँगै मकै गोड्ने काम सकिएर पाटा गोड्ने र खेसरि, मुसुरि, आलस, धनियाँ, चना ,आदि उखेल्ने र दाँई गर्ने चटारो । हरेक विहान सबेरै उठेर यिनै कार्यसग संघर्ष गर्दै ९ वजे आमाले दिएको तात–तातो भात मोहिसँग हतार हतार सप्प्राङ सप्प्राङ खाएर हातमा किताव लिएर ४५ मिनेटको यात्रामा पार गर्दै स्कुल । फेरि ४ वजे हतारमा घर फिर्ति, घरको बरण्डामा नै लुगा र किताव फालेर गाई वस्तुको हेरचाह गर्दै उखेलेको ठाँउ र दाँई सकेर केलाएर छोडेको ठाँउमा खेसरिको सिला भेला गरेर सुनवर्षि मेलाको खर्च जुटाउने तयारि ।

टक्, टक्, टक्, खैरा र पाँङ्ग्रे घोडाहरु । ढक, तराजु र बोरामाथि सिजुवा बजारका वनियाँहरु घर–घरमा खेसरि, मुसुरि, धनियाँ, आलस खोज्दै ब्यस्त ।  घरमा आइपुगेका बनियासँग छलफल गर्दै बुवा पिंडिमा बोरा घोप्ट्याउदै, बनियाँ बोरा र ढक तराजुको तयारि गर्दै ।

तौल सुरु हुन्छ, रामे एक, रामे दुई…रामे दश….रामे चालिस… । बुवा छरिएको भेला गर्नै मस्त । बनियाँ जोख्न व्यस्त । कति भयो कति ? अलमल्ल । फेरि जोख्नेलाई नै सोध्नुपर्ने , उसकै विश्वास ।आफु ले पनि त्यहि मौकामा आफ्नो सिला बेच्दा र बनियाँले दिएको पैसा गोजिमा हाल्दा आएको मज्जा…. आहा…!!!

सुनवर्षी मेला आउदै छ । गाउँभरि हर्ष । घर आँगनको सरसफाई ,बालुवा र घिरौंलाको जालोले मिचि–मिचि हात खुट्टाको मैला फालेको–सोडा हालेर खड्कुलामा लुगा उसिनेर मुङ्ग्राले पिटि–पिटि सिरकका खोल, तन्ना र कमल धुएको, कमेरो माटोले टाटि र दलिन पोतेको झलझल्ति उस्तै । आहा !!! ओल्लो घर र पल्लो घरको प्रतिस्पर्धा ……

भोलि त नयाँ वर्ष सुनवर्षि मेला । आज नै भोलीका कामहरुको पूर्व तयारि सक्नुपर्ने । घाँस, पराल, खोलेको जोरजाम र बेलुकीको खाना पछि दामले साथीहरुको जमघट्, लाउने लुगा, जाने समय र रमाईलो गर्ने विषयमा गरेको छलफल र सहमति…..

आज मेलाको दिन । विहान कसैले उठाउनै परेन । हाँसि खुसि– बा आमालाई विहानै मेला जान आग्रह गरियो । विहानको घरको सवै काम खुसि साथ आफै सम्पन्न गरियो । १० वजेको खाना पछि गाई वस्तुलाई घाँस पानी ।।। अनि गोलो ऐना अगाडि राखेर ,सफा लुगा अनि जुल्फि कोर्दै साथिहरुलाई पर्खिएको क्षण, हिड्ने बेलामा मेला खर्च भनेर वुवाले दिएको रु ५ आहा !!!

बाटोमा दोहरी लत्ता आउने र जाने मान्छेको भिड । चैते हुरी र बक्राहा खोलाको बेप्रवाह धुलो । वाह १ फिरफिरे, घिरघिरे, सिठ्ठि, मुरली, वाँसुरी, फुल घोडा, खुत्रुके, मुजुरको प्वाँख ,मन्दिरको प्रसाद, नयाँ पात्रो ,जुलबी । कोहि रित्तो छैन । मन्दिर केहि पुर्व र उत्तर खेसरि वारिका आलिहरुमा सितन सहित दिदिहरुले ठूलठूला आरिमा छान्दै डबका डबकामा दिएको खाजा र गोलाकार भएर हाँस्दै खाँदै र दिदै गरेका दृश्यहरु वाह !!!

पोखरीको दाहिने फन्को मारेर भिड्मा च्यापिदै मन्दिरमा गरेको दर्शन, पोखरीको वरिपरि चढाइएका फुलघोडा र अगरवत्ति, मेलाको ठेलामठेल, विभिन्न रंगका सर्वत, जुलबी, मिठाईका विभिन्न परिकारहरु, धेरै पछि भेटिएका साथीहरु, विविध जातजाती र समुदायका पहिरनहरु क्या मनमोहक ….

५ वजे पछि, दिउँसोको डबकाले उत्साहित भएका दाईहरु । दाईहरुको विचमा उत्पन्न हुने तनाव, जब खुकुरिको नाचमा परिणत हुन्छ । अनि हुने भागदौड । व्यापारिहरुको विचल्नि र भागाभाग त्यहिबेला केहिलाई मिल्ने अवसर । त्यहि मौकामा सट्को फेरोमा जुलबी र अरु मिठाई पोको पारेर भाग्दै भाग्दै वक्राहा खोलाको बगरमा, साथीभाई मिलेर हतारै हतारमा मुख पोल्दै खाएको जुलबी र निल्न सारो पर्दा पानी पनि नपाएको छट्पटि । अनि पानी पिउनकै लागी वक्राहाको वगरमा हातले खनेको कुवामा संलिएपछि अञ्जुलीले उठाएर खाएको पानी वाह! क्या स्वादिलो ।

आज किन स्मृतिका यि पलहरुले मलाई घच्घच्याई रहन्छ । मलाई जस्तै अरुलाई पनि घच्घच्याइ रहोस । यिनै विगतले आफ्नो परिचय कसैले भुल्ने छैन र आगतको कर्तव्य र दिसाबोध सधैं गरिरहनेछ ।

नयाँ वर्षको सवैमा शुभकामना । 

 

                                  लेखकः नेकपा एमाले मोरङका अध्यक्ष हुनुहुन्छ । 

 

Back to top button