
काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई पदोन्नति गरेको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले सशस्त्र प्रहरी महानिरीक्षक बन्नुभएका केसीलाई गृहसचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिह्नबाट प्रदान गर्नुभएको हो ।
हिजो गृहमन्त्रालयमा भएको समारोहमा गृह सचिव पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभयो।
उहाँले सशस्त्र प्रहरी बल, नेपाललाई सबल, सुदृढ र थप सशक्त बनाउन आवश्यक योजना तर्जुमा गर्नेमा सदैव मन्त्रालयको साथ र सहयोग रहिरहने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो।
त्यस अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नति प्रदान गरेकोमा नेपाल सरकार मन्त्रिपरिषद् तथा गृह मन्त्रालयप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा साङ्गठानिक सुदृढीकरण र वृत्ति विकास तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सशक्तीकरणका लागि काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।
वि.सं २०२३ साल भदौ १५ गते नुवाकोट जिल्लाको तलाखु–३ मा जन्मिनुभएका सशस्त्र प्रहरी महानिरीक्षक केसी २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गर्नुभएको हो ।
यस्तै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्रहरी सेवाबाट अनिवार्य अवकाश पाएपछि सरकारले केसीलाई महानिरीक्षकमा पदोन्नति गरेको हो।