
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र धेरै नेता इमान्दार रहेको तर नेतृत्वको बन्दी भएको बताउनुभएको छ ।
आज आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा उहाँले एमाले भित्रका इमान्दार नेता कार्यकर्ताको नेतृत्व पनि आफूले गर्ने बताउनुभयो ।
एमालेका सबै खराब छन् भन्ने पनि सोच्न नहुने बताउँदै प्रचण्डले तीन वर्षसम्म एमालेलाई हेर्दा ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै रहेको बताउनुभयो । उ
हाँले ‘एमाले भित्र प्रतिक्रियावादी, प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वको बन्दि भएका कम्युनिष्टहरुको नेतृत्व पनि आफुहरुले गर्नुपर्ने बताउनुभयो ।
एमालेसँग एकता गर्दा ताका माओवादी विभाजन नभएको भए ६० प्रतिशत हिस्सा लिँदै एकिकरण हुने थियो भन्दै प्रचण्डले भन्नुभयो,‘त्यसो हुँदा पार्टी फुट्दैन्थ्यो । हामी साँच्चै समाजवादतिर लिएर जान्थ्यौं ।’
उहाँले सबै कम्युनिष्टलाई एकीकृत गरेर समाजवादसम्म पुग्नुपर्ने र त्यसको सुरुवात माओवादीहरुबीच ध्रुवीकरण गर्नुपर्ने बताउनुभयो । यस्तै उहाँले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आफ्नो प्रभाव बढ्दै गएकाले पार्टी फुटाउने षड्यन्त्र भएको बताउनुभएको छ ।
उहाँले तत्कालीन नेकपामा रहेका पूर्व एमालेका ८० प्रतिशत नेताहरुले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएको जिकिर गर्नुभयो ।