प्रदेश १ मा ३ सय २१ वटा मतदान केन्द्र अति संवेदनशील

विराटनगर । स्थानीय तह निर्वाचनका लागि तोकिएका मतदान केन्द्र मध्ये प्रदेश १मा ३ सय २१ वटा केन्द्र अति संवेदनशीलको सूचीमा परेका छन् । स्थानीय प्रशासनले सुरक्षा अवस्थाको विश्लेषण गरेर ३ सय २१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको हो ।

प्रदेशमा ८ सय ४९ वटा मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थललाई ३ तहमा वर्गीकरण गरेको छ ।

प्रदेशमा १ हजार ८ सय ७७ मतदान स्थल र ४ हजार ५१ वटा मतदान केन्द्र छन् । प्रदेश १ प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईका अनुसार प्रदेशमा ७ सय ७ मतदान केन्द्र सामान्य अवस्थामा छन् ।

अध्ययन रिपोर्ट अनुसार ७ सय ७७ मतदान केन्द्र र २ सय ८६ मतदान स्थल रहेको झापामा ५१ मतदान स्थल अति संवेदनशीलको सूचीमा छन् भने १ सय ५३ संवेदनशील र ८२ वटा सामान्य सूचिमा छन् ।

यस्तै ८ सय २० वटा मतदान केन्द्र र ३ सय वटा मतदान स्थल रहेको मोरङमा ४९ वटा मतदान स्थल अति संवेदनशील र १ सय ५५ संवेदनशील सूचीमा छ । ९६ वटा सामान्य रहेको छ ।

सुनसरीमा ४४ अति संवेदनशील, ८० संवेदनशील र ४२ सामान्य छ । सुनसरीमा ५ सय ८१ मतदान केन्द्र र १ सय ६६ मतदान स्थल छन् । पहाडि जिल्लामा अतिसंवेदनशील सूचीको मतदान केन्द्र र स्थल कम छन् ।

Back to top button