नेपालमा ‘जीवनजल’ को मुल्य नबढेका कारण उत्पादन बन्द हुने अवस्थामा

काठमाडौं । नेपालमा (जीवनजल)को उत्पादन बन्द हुने अवस्थामा पुगेको छ। लागत खर्च पनि नउठ्ने देखेपछि औषधि व्यवसायीहरूले जीवनजलको उत्पादन बन्द गर्न लागेका हुन्।

सरकारले तोकेको मूल्यमा उत्पादन गरेर विक्री वितरण गर्नै नसकिने भन्दै नेपाली औषधि उद्योगहरूले जीवनजल उत्पादन गर्न छोडेका छन् र अहिले उत्पादन गरिरहेका औषधि कम्पनीहरूले अब उत्पादन बन्द गर्ने तयारी गरिरहेका छन्।

२०६४ सालदेखि जीवनजलको मूल्य नबढेको तर अहिले उत्पादन लागत बढिरहेको हुँदा अब जीवनजल उत्पादन गर्न नसकिने नेपाल औषधि उत्पादक संघ (एपोन) का महासचिव विप्लव अधिकारीले बताउनुभयो।

उहाँका अनुसार २०६४ सालमा एक प्याकेट जीवनजलको मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकिएको थियो तर त्यसयता १४ वर्ष बितिसक्दा पनि मूल्य बढ्न नसकेको उहाँको भनाइ छ।

‘अहिले हामीलाई एक प्याकेट जीवनजल उत्पादन गर्न १६–१७ रुपैयाँ लाग्छ, अहिले भारतमा जीवनजलको मूल्य प्रतिप्याकेट ३२ रुपैयाँ छ भने नेपालमा १० रुपैयाँ छ। यस्तो अवस्थामा हामीले कसरी उत्पादन गर्न सक्छौँ’‚ उहाँले भन्नुभयो।

हाल नेपालमा १७ वटा कम्पनीले जीवनजल उत्पादनका लागि लाइसेन्स लिएको भए पनि ५–६ वटा कम्पनीले मात्रै अहिले जीवनजल उत्पादन गरिरहेको उहाँको भनाइ छ।

हाल नेपालमा जीवनजल उत्पादन गर्ने कच्चा पदार्थ भारत र चीनबाट आयात हुने उहाँले बताउनुभयो । नेपालमा हाल वार्षिक ३ करोडभन्दा बढी प्याकेट जीवनजल प्रयोगमा आउने गरेको उहाँको भनाइ छ।

उद्योगीले साढे ३ वर्षअघि औषधि व्यवस्था विभागलाई जीवनजलको उत्पादनमा लाग्ने लागतको बारेमा जानकारी दिँदै औषधि व्यवस्था विभागलाई पत्र पठाएका थिए। त्यसवेला जीवनजलको लागत १४ रुपैयाँ आएको थियो।

Back to top button