
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टीहरुले देशलाई असफल राष्ट्रको बाटोमा धकेलिरहेको आरोप लगाउनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले देशका ठूला राजनीतिक पार्टी र ठूला नेताहरुले देशलाई असफल राष्ट्र बनाउन लागेको बताउनुभएको हो ।
ठूला पार्टीहरू देशलाई असफल राष्ट्र बनाउने काममा एक अर्काको सहयोगी बनिरहेको भन्दै उहाँले देशलाई असफल राष्ट्र बन्न नदिन राप्रपा क्रियाशील रहेको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी केन्द्रमा राजनीतिलाई पेसा, व्यवसायको रुपमा लिने मानिसहरु रहेको र राप्रपामा राजनीतिलाई सेवा मान्ने र देशलाई माया गर्नेहरु आवद्ध रहेको बताउनुभएको छ ।
भ्रष्टाचार विरोधीहरु आफ्नो पार्टीमा जोडिँदै गएको समेत उहाँले बताउनुभयो ।