पोखरा महानगरको उम्मेदवार सिफारिसका लागि आज निर्वाचन हुँदै

पोखरा । कास्कीको पोखरा महानगरपालिकाको लागि मेयर र उपमेयरको उम्मेदवार छनौट गर्न नेकपा एमालेले मतदान गर्ने भएको छ । एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउन नसकेपछि मतदान गर्न लागेको हो ।

मेयरको आकांक्षा राखेका १२ जनामध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम उम्मेदवारीको लागि सिफारिस हुनेछ । पोखरा महानगर कमिटीले आज मध्यान्न १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

नगर कमिटीले मंगलबार डाकेको बैठकमा ३ हजार रुपैयाँ शुल्क तिरेर १२ जनाले महानगरको मेयर पदमा आकांक्षा दर्ता गरेका छन् । आकांक्षा दर्ता गर्नेहरुमा कृष्णबहादुर थापा, राजीव पहारी प्रा.डा. विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा रहनुभएको छ ।

यस्तै उपमेयरमा पनि ११ जनाले आकांक्षा राख्नुभएको छ । सुष्मा पौडेल, शोभामोहन पौडेल, बामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीले उपमेयर पदका लागि निवेदन दिनुभएको छ ।

देशका ६ वटा महानगरपालिकामध्ये पोखरामा एमालेको अवस्था राम्रो मानिन्छ । २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्दा पनि एमालेले जितेको थियो ।

Back to top button