स्थानीयतहमा माओवादीसँग पनि तालमेल हुनसक्छः हिक्मत कार्की

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का पूर्व आन्तरीक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले स्थानीय तहको निर्वाचनमा तल्लो तहमा एमाले र माओवादीबीच पनि तालमेल हुन सक्ने बताउनुभएको छ ।

आज बिहान सञ्चारकर्मीहरुसँग छलफल गर्दै पूर्वमन्त्री कार्कीले केन्द्रले स्थानीय तहको जिम्मेवारी स्थानीय तहलाई नै दिएको हुँदा माओवादीसँग वडा र पालिकामा तालमेलको सम्भावना रहेको बताउनुभएको हो ।

प्रदेशको झापादेखि अन्य जिल्लाका तल्लो तहमा माओवादीसँग निर्वाचन तालमेलको कुरा भइरहेको उहाँले बताउनुभयो । यद्यपी उहाँले केन्द्रीय तहमा एमाले, माओवादी र समाजवादीका अध्यक्षहरुको सम्बन्धमा चिसोपना रहेकाले एकले अर्काले चेताउने, साइजमा ल्याउने अभ्यासले आगामी निर्वाचनसम्म एक हुने सम्भावना नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘तैपनि, गठबन्धन हुबहु माथिल्लो निर्देशनअनुसार नभए धेरै स्थानमा माओवादी र एमालेबीच तल्लो तहमा संयुक्त उम्मेदवारीको प्रयास र कोसिस भइरहेको छ।’ स्थानीय निर्वाचनका लागि एमालेले वैशाख ९ गतेभित्र अधिकांश उम्मेदवारको अन्तिम नाम टुंगो लगाउने बताउनुभयो ।

पार्टी गठबन्धनको पक्षमा नरहेपनि केन्द्र तहमा राप्रपा नेपालसँगको तालमेललाई स्वाभाविक रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । राजतन्त्रको एजेण्डा त्यागेर गणतन्त्रलाई आत्मसात् गरेको राप्रपा नेपालको केही उम्मेदवारलाई एमालेले निर्वाचनमा स्थान दिने उहाँले बताउनुभयो ।

यस्तै प्रदेश १ सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गर्दै पूर्वमन्त्री कार्कीले प्रदेश सरकारको संरचनाबारे जनतामा देखिएको नकारात्मक सोच र भावनालाई अहिलेको सरकारले थप बल पुर्‍याएको बताउनुभयो । बजेटविहीन अनावश्यक मन्त्रालय थप, कर्मचारीविहीन मन्त्री थपेर जनतामाझ सरकार आलोचित बन्दै गएको उहाँको भनाई छ ।

बहुमतसहितको सरकारको नेतृत्व गरिरहँदा समेत प्रदेशको नाम ल्याउन नसकेको स्वीकार गर्दै उहाँले मंसिरसम्म संसद् चल्न सकेको खण्डमा प्रदेशको नाम आउन सक्ने बताउनुभयो । मुख्यमन्त्री राजेन्द्रकुमार राईले नामबारे सुरुमा छलफल सुरु गरे पनि निष्कर्ष आउन नसकेको भन्दै नामाकरणको सबालमा एमालेले सक्रिय सभागिता जनाउने बताउनुभयो ।

Back to top button