निर्वाचन पछि एमालेले बहुमत ल्याएर सरकार चलाउँछः ओली

लमजुङ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि बहुमत ल्याएर आफ्नो पार्टीले पाँच वर्ष सरकार चलाउने दाबी गर्नुभएको छ ।

आज लमजुङको घलेगाउँलाई ‘सुखी गाउँ घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमाले प्रतिपक्षमा बस्ने पार्टी नभएको भन्दै चुनावपछि बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने बताउनुभएको हो ।

जनताको आकर्षण एमालेमा रहेको भन्दै उहाँले जालझेल गरेर प्रतिपक्षमा केही समयका लागि एमालेलाई प्रतिपक्षमा पुर्‍याएपनि बहुमतको सरकार बनाएर देश र जनताको समृद्धिको चाहना पूरा गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एक छिनका लागि जालझेल गरेर प्रतिपक्षमा पुगेको छ । चुनावपछि फेरी सत्तामा आउँछ ।’ उहाँले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको बताउनुभयो ।

यस्तै अध्यक्ष ओलीले रोधीघरमा गाउने आफ्नो इच्छा रहेको बताउनुभएको छ । उहाँले देशमा हिंसा फैलिन थालेपछि रोधीघरहरू मासिन थालेको भन्दै रोधीघर भए आफुलाई पनि एकरात यतै बसेर रोधी तताऊँ–तताऊँ लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मैले जिन्दगीमा गीत गाएको छैन, तर रोधीघरमा बेलुकी बस्न पाएको भए एउटा गीत चाहिं पक्कै गाउँथे ।’ ओलीले घलेगाउँलाई स्मार्ट भिलेज बनाउनका लागि आवश्यक पर्ने सहयोग गर्ने बताउनुभयो । उहाँले बाजागाजाका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।

Back to top button