विराटनगरमा सत्ता गठबन्धनको बैठक चल्दा कांग्रेस कार्यकर्ताको विरोध प्रदर्शन

विराटनगर । स्थानीय तह निर्वाचनका लागि भागवण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक चलिरहेका बेला विराटनगरमा कांग्रेस कार्यकर्ताले नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् ।

गठबन्धनको विरोधमा नेपाली काङ्ग्रेस विराटनगरका कार्यकर्ताले प्रदर्शन गरेका हुन् । दिउँसो २ बजेबाट भागवण्डा मिलाउनका लागि गठबन्धनले गठन गरेको जिल्ला स्तरीय कार्यदलको बैठक बसेको थियो ।

बैठक शुरुभएसँगै विराटनगर – ६ का कांग्रेस कार्यकर्ताले गठबन्धन विरुद्ध नाराबाजी गर्दै विराटनगरमा तालमेल नगर्न खबरदारी गरेका छन् ।

गठबन्धनका चार दलले गठन गरेको कार्यदलमा नेपाली काङ्ग्रेसबाट उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकिकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल बैठकमा सहभागी हुनुभएको थियो ।

कांग्रेस कार्यकर्ताले नाराबाजी गर्दै पार्टी कार्यालय प्रवेश गरेपछि कार्यदलका नेताहरुले ढोका बन्द गर्नुभएको थियो । विराटनगर– ६ मा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ । गठबन्धन गर्दा पुनः उक्त वडा माओवादीको भागमा पर्ने भएपछि कार्यकर्ताले गठबन्धनको विरोध गरेका हुन् ।

गठबन्धनको विरोध गर्दै पुगेका कार्यकर्तालाई कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बूले कार्यकर्ताको भावना अनुसार अघि बढ्ने आश्वासन दिनुभएको छ । नेपाली काङ्ग्रेसले विराटनगरमा गठबन्धन गर्न चाहेको छैन ।

Back to top button