
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ ।
आज पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा गठबन्धनलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन परिचालन समितिमा छलफल भएको हो ।
बैठकमा परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले गठबन्धनको मर्म विपरीत जान नहुने धारणा राख्नुभएको थियो । यस्तै बैठकले निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप–समिति समेत बनाउने निर्णय गरेको छ ।
साथै प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने तथा जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने निर्णय गरिएको स्रोतले जनाएको छ ।