निर्वाचन अब रोकिए देशमा ठूलो दुर्घटना हुनेछ: थपलिया

जनकपुरधाम । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन अब रोकिए देशमा ठूलो दुर्घटना हुने बताउनुभएको छ ।

आज जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनको मिति तोकेर निर्वाचनको गन्तव्य तोकेर छेपयासत्र प्रक्षेपण भइसकेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अब यसलाई तलमाथि वरपर वा अन्य कुनै तरिकाले सारिनु भनेको दुर्घटना निम्त्याउनु हो । यो लोकतन्त्रको निम्ति अत्यन्त अप्रिय विषय हुनसक्छ त्यस कारण निर्वाचनसँग डराउनु पर्ने आवश्यकता छैन ।’

प्रमुख आयुक्त थपलियाले निर्वाचनको क्रमभंग गर्ने अवस्था नरहेको भन्दै उहाँले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताउनुभयो । उहाँले यसका साथ साथै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सम्पन्न हुने दावी गर्नुभयो ।

निर्वाचनलाई लोकतन्त्रको सबै भन्दा ठूलो गहना भनिने गरेको भन्दै उहाँले भन्नुभयो, ‘निर्वाचनलाई लोकतन्त्रको प्राण भन्ने गरिन्छ र निर्वाचनको सन्दर्भमा लोकतन्त्र नै सबै भन्दा प्रिय र सम्मानित शब्द पनि हो तर निर्वाचनको यत्रो माहोल तयार भइ रहदा कहिँ अतै निर्वाचन प्रती संशय उत्पन्न हुने खालको अभिव्यक्ति आइरहनु दुखद हो ।’

निर्वाचनको मिति तय हुँदा छलफल भएको र त्यस क्रममा संविधान र कानुनको विषयमा तर्क वितर्क भएकै भन्दै उहाँले अब सरकारले निर्वाचनको मिति तय गरिसकेकोले तर्क वितर्कको आवश्यकता नरहेको बताउनुभयो ।

थपलियाले निर्वाचन आचारसंहितालाई सामान्य नठान्न भन्दै यसको उलंघन गरे कारवाही हुने र केही सँग स्पष्टीकरण समेत सोधिएको बताउनुभयो । निर्वाचन आचारसंहितालाई हेर्नका लागि हरेक स्थानीय तहमा संयन्त्र बनाइएको उहाँले बताउनुभएको छ ।

Back to top button