जनकपुरमा चुनावी गठबन्धन नगर्ने कांग्रेसको निर्णय

जनकपुरधाम । जनकपुरमा नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धन बिच केन्द्रमा तालमेल गर्ने निर्णय भएपनि जनकपुरमा भने नगर्ने निर्णय भएको हो ।

कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ । एक्लै चुनाव लड्ने तयारी गरिरहेको उपमहानगरपालिका समितिले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट लालकिशोर साह २१ हजार ९ सय ३ मत ल्याएर निर्वाचित हुनुभएको थियो भने निकटतम प्रतिष्पर्धि नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १ सय ६४ मत प्राप्त गर्नुभएको थियो ।

नगर सभापति मनोज साह उपमहानगरपालिकाका वडाहरुमा पनि गठबन्धन गर्न नहुनेमा जनताको म्याण्डेड रहेको बताउनुभयो ।
आफूहरुका नेता विमलेन्द्र निधि, प्रदेशका मन्त्री रामसरोज यादव, जिल्ला सभापति योगनारायण पंजियार, नेता स्मृतिनारायण चौधरी, चन्द्रमोहन यादव, दिनेश प्रसैला पनि गठबन्धनको विरोधमा रहेको सभापति साहले बताउनुभयो ।

उहाँले गठबन्धन गर्नैपर्दा जनकपुरमा मेयर र उपमेयर कांग्रेसलाई दिनुपर्ने तर्क गर्नुभयो । उहाँले केन्द्रले गठबन्धन मान्न जबरजस्ति गरे बहिष्कार गरिने उहाँले बताउनुभयो । मधेश प्रदेशको पर्सा जिल्लामा यसअघि नै कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरिसकेको छ ।

Back to top button