वनमा एक महिलाको शव फेला

महोत्तरी । मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी हिजो साँझ ५ बजे घाँस काट्न वनमा जानुभएको थियो।

रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा उहाँ वनमा मृत अवस्थामा फेला पर्नुभएको हो ।

राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उहाँको शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ।

स्थानीयवासी तथा आफन्तले उहाँको मृत्यु सर्पदंश वा उच्च तथा अल्प रक्तसञ्चारका कारण भएको हुनसक्ने अनुमान लगाएका छन्। प्रहरीले यसबारे अनुसन्धानको काम अगाडि बढाएको जनाएको छ।

Back to top button