गठबन्धनको निर्देशन पालना गरेर निर्वाचनमा जानुहोस: मन्त्री भुसाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेत्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबैलाई गठबन्धनको निर्देशनलाई पालना गरेर निर्वाचनमा जान आग्रह गर्नुभएको छ ।

ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “अहिलेको निर्वाचन परिवर्तनलाई संस्थागत गर्ने र परिवर्तनलाई पछाडि पmर्काउने बीचको हो । त्यसैले हालसम्मका उपलब्धिलाई संस्थागत गर्न पनि गठबन्धनका उमेदवार निर्वाचित हुनुपर्छ ।”

जनयुद्ध र जनआन्दोलनको एकीकृत बलमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालगायत थुप्रै मुद्दालाई संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री भुसालले संविधानको रक्षाका लागि गठबन्धन आवश्यक भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “प्रतिगमनको अझै खतरा छ भन्ने विषय व्यवहारबाटै पुष्टि भइसकेको छ, त्यो खतरालाई परास्त गर्नका लागि पनि गठबन्धनलाई बलियो बनाउनुपरेको हो ।”

यसैबीच ऊर्जमन्त्री भुसालले पछिल्लो समय चर्चा भएजस्तो देशको अर्थतन्त्र खराब नभएको उल्लेख गर्दै कृषिमा आधारित देशको अर्थतन्त्रमा बाह्य कारणले दबाब भने रहेको बताउनुभयो ।

बिलासीताका वस्तुमात्र नभई अर्बौंको खाद्यान्नसमेत विदेशी मुलुकबाट आयात हुने गरेको उल्लेख गर्दै उहाँले पछिल्लो समय सरकारले अत्यावश्यकबाहेक केही सामग्रीको आयात कडाइ गरेको जानकारी दिनुभयो ।

जलविद्युतबाट उपलब्ध हुने सुविधामा सरकारले छुट दिलाएको बताउँदै उहाँले सिँचाइका लागि र सर्वसाधारण जनताले खपत गर्ने विद्युत् महसुलमा सहुलियत दिलाइएको बताउनुभयो।

Back to top button