कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी

काठमाडौं । स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ । आज दिउँसो २ बजे सुरु हुने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।

बैठकमा महानगर र उपमहानगरको उम्मेदवारीका विषयमा छलफल हुने छ । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा केन्द्रीय तहबाट चुनावी तालमेलको निर्णय लिने सहमति गरेपछि कांग्रेसले बैठक बोलाएको हो ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले महानगर र उपमहानगरमा केन्द्रबाट तालमेलको निर्णय लिने सहमति गरेको थियो ।

कांग्रेसको विधानले ११ उपमहानगरपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार छनोटको अधिकार प्रदेश संसदीय समितिलाई दिएको छ । ६ वटा महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवार भने केन्द्रीय संसदीय समितिले चयन गर्ने छ ।

कार्यसम्पादन समिति बैठकबाट आफूले लिने र छोड्ने महानगर र उपमहानगरबारे संस्थागत निर्णय गरी गठबन्धन दलसँगको छलफलमा बस्ने कांग्रेसको रणनीति छ ।

गठबन्धनको बैठकबाट मात्र निर्णय लिए सिङ्गो पार्टी पङ्क्तिले स्वामित्व नलिने खतरा देखिएपछि कांग्रेसले संस्थागत निर्णय लिन खोजेको देखिन्छ ।

Back to top button