
काठमाडौं । सत्ता गठबन्धनले भोलिसम्ममा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको छ ।
सत्ता गठबन्धनका शीर्ष नेतृत्वको आज बालुवाटारमा बसेको बैठकले भोलिसम्म देशभरका महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको हो ।
यस्तै, बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।
देशभरका ६ महानगर र ११ उपमहानगरपालिका पहिलो चरणमा उम्मेदवार टुङ्गो लगाएपछि बाँकी स्थानीय तहको टुङ्ग्याउँदै जाने निर्णय भएको हो । स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै भएपछि सत्ता गठबन्धनमा भागवण्डा गर्न समस्या भएको हो ।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता सहभागी हुनुभएको थियो ।