
तनहुँ । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबिच तालमेलको खाका तय भइरहँदा तनहुँमा भने असन्तुष्ट कांग्रेसले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएको छ ।
त्यहाँ नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूह र नेकपा एमाले तनहुँबीच चुनावी तालमेल भएको हो । कांग्रेस तनहुँलाई वार्तामार्फत एक बनाएर अगाडि बढाउन नेता जोशीले ल्याएको प्रस्तावलाई वेवास्ता गरिएपछि जोशी समूहले एमालेसँग तालमेल गरेको हो ।
तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गरेको कांग्रेसका नेता गोविन्दराज जोशीले जानकारी दिनुभयो । जोशी निवास दमौलीमा हिजो भएको छलफलबाट चुनावी तालमेल गर्ने निर्णय गर्दै साझा उम्मेदवारी दिने सहमति भएको हो ।
तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति समेत गठन गरिएको छ । जोशी समुहबाट ४ जना र नेकपा एमाले तनहुँका ४ जना गरी ८ सदस्यीय ‘चुनाव परिचालन समिति’ गठन गरिएको छ । प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवारी दिने सहमति भएको छ ।
१९ वर्षदेखि सत्ता बाहिर रहेका जोशी विकासवादी नेताको रुपमा जिल्लामा परिचित हुनुहुन्छ । रुष्ट जोशी समूहले एमालेसँग चुनावी तालमेल गरेपछि तनहुं कांग्रेसलाई ठूलो क्षति हुने देखिएको छ । जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा उम्मेदवारका लागि सिफारिस भएका दीपकराज जोशीलाई एमालेले सघाउने भएको छ । त्यसैगरी अन्य पालिकामा पनि सहमति हुनेछ ।