बूढानीलकण्ठबाट चितुवाको छालासहित ४ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित गुल्मीको चन्द्रकोट गाउँपालिका–७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगाको खिजिघोम्बा गाउँपालिका–९ का २९ वर्षीय फुरी शेर्पा, धादिङको गजुरी गाउँपालिका–५ का २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुलीको कमलामाई नगरपालिका–४ का ३० वर्षीय विकास पुर्कुटीलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बूढानीलकण्ठ नगरपालिका–८ गल्फुटारस्थित लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्व–पश्चिम गेस्ट हाउसबाट उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो।

पक्राउ परेका उनीहरूले ‘द नर्थ फेस’ लेखेको नीलो–कालो झोलाभित्र सेतो बोराले बेरेर चितुवाको छाला बिक्रीवितरण गर्न हिँडेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकासँग लम्बाइ पुच्छरसहित ४.३ फिट र चौडाइ दुई फिट भएको चितुवाको छाला एक थान, लम्बाइ पुच्छरसहित ६.९ फिट र चौडाइ तीन फिट भएको चितुवाको छाला एक थान, छालाबिनाको चितुवाको टाउको एक थान, ओपो मोबाइल तीन थान र सामसुङ कम्पनीको मोबाइल एकथान बरामद गरेको छ।

पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको प्रवक्ता मैनालीले बताउनुभयो।

Back to top button