
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारबाही फिर्ता लिन माग गर्दै नेपाल राष्ट्र बैंकका कर्मचारी आन्दोलित भएका छन्।
अधिकारीलाई गरेको निलम्बनको विरोध गर्दै नेपाल राष्ट्र बैंक संघमा आवद्ध कर्मचारीले आज केन्द्रीय कार्यालय परिसरमा कालो ब्यानर झुण्ड्याएर प्रदर्शन गरेका हुन् । चैत्र २५ गतेको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर, निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि सुरु गरिएको कारबाही प्रक्रिया अबिलम्बन फिर्ता गर, र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्दारका लागि तत्काल विशेष नीतिको तर्जुमा गर जस्ता माग राख्दै कर्मचारीहरुले प्रर्दशन गरेका हुन् ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको नेतृत्वमा आन्दोलन सुरु भएको आन्दोलनका क्रमा कोणसभा समेत गरिएको छ । कोणसभामा बोल्दै संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले जब राज्य संचालकहरु वित्तीय प्रणालीको दुरुपयोग गर्दै वित्तीय माफियाहरुको चंगुलनमा फस्छन् त्यतिबेला नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताउनुभएको छ ।
उहाँले अहिले भएको गभर्नर माथिको आक्रमण नयाँ नभइ नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि यसअघि पनि आक्रमण हुने गरेको बताउनुभएको छ । अध्यक्ष तिम्सिनाले केन्द्रीय बैंकको नेतृत्वमाथि हुने गरेका आक्रमणमाथि कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधमा उत्रिदै आएको समेत बताउनुभएको छ ।
यसअघि पनि केन्द्रीय बैंकका गभर्नरहरु कल्याण विक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराई निलम्बनमा पर्नुभएको थियो ।