
काठमाडौं । पश्चिमी तराईका क्षेत्रमा भोलीदेखि तीनदिन ‘लू’ अर्थात तातो हावा चल्ने पूर्वानुमान गरिएको छ । ४० डिग्रि भन्दा माथिको तापक्रमलाई ‘लू’ भन्ने गरिन्छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ । यो अघि नै विज्ञहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका छन् ।
जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीलाई उदृत गर्दै विभिन्न सञ्चारमाध्यमले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक वृद्धि हुने उल्लेख गरेका छन् । उप्रेतीका अनुसार नेपालमा ‘लू’ सुरु भइसकेकोले सबै नागरिकहरु सचेत रहन आवश्यक छ ।
जलवायु विज्ञ डा. उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने पर्ने प्रचुर सम्भावना रहेको बताउनुभयो । नेपालमा हिजोसम्मको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेशनको संख्या २७ पुगेको छ ।
डा. उप्रेतीका अनुसार नेपालमा समय भन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको हो । १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताउनुभएको छ । उहाँले अहिले विश्वभर पनि मार्च महिनालाई १२२ वर्ष यताकै सबैभन्दा गर्मी महिना भनेर रेकर्ड भएको बताउनुभयो ।
उहाँले जलवायु परिवर्तनको असरका रुपमा यसलाई हेरिएको बताउनुभएको छ । उहाँले दिउँसो १२ देखि ३ बजेको समयमा तापक्रम अत्याधिक वृद्धि हुने भएकोले त्यसबेला बढी समेत हुन आग्रह गर्नुभएको छ ।
डा. उप्रेतीले लूबाट बच्नको लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरु विहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्नुपर्नेलगायतका सुझाव दिनुभएको छ । यस्तै पानी प्रशस्त पिउने, दही, मोही र झोलीलो पदार्थ खाने, प्रोटिन भएको खाना नखाने, कटन र पातलो लुगाहरु लगाउन उहाँको सुझाव छ ।