
काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का फाइनलिस्टहरुलाई सम्मान गरेको छ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोष साहका साथै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिली आर्मिटेजलगायतको टोलीलाई सम्मान गरेको हो।
बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी, बोर्ड सदस्य ङिमा नुवा शेर्पा, मिलन देवकोटा, वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछानेलगायतले साह सम्मिलित सेफ टीमलाई सम्मान गर्नुभएको हो ।
सेफहरुलाई सम्मान गर्दै बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले सन्तोष शाहले नेपाली पकवान (परिकार)लाई विश्वसामु परिचित गराएर नेपालको पर्यटनमा नयाँ आयाम थपेको बताउनुभयो।
उहाँले यस कार्यले नेपाली परिकारहरु विश्वमा चिनिने र थप रोजगारीका साथै पर्यटन व्यवसायलाई पनि सफल बनाउन सहयोग गर्ने बताउनुभयो। उहाँले सन्तोषसहित टीमका सहभागी अन्य सेफहरुको आगमन र नेपाल भ्रमणले नेपाली पकवान पर्यटनलाई थप टेवा पुर्याएको बताउनुभयो।
कार्यकारी प्रमुख रेग्मीले भन्नुभयो, ‘नेपाललाई पर्यटन गन्तव्यका हिसाबले पर्यटकहरुले सुन्दर गन्तव्यका रुपमा नै हेर्ने गरेका छन्। तर मास्टर सेफ सन्तोष शाहले नेपाली खाना–परिकारहरुलाई विश्वसामु पस्किएपछि नेपाली पकवान पर्यटनका हिसाबले पनि महत्वपूर्ण गन्तव्य हो भन्ने सन्देश गएको छ।’
सम्मानित व्यक्तित्व सेफ सन्तोष साहले नेपाली खानालाई विश्व मञ्चमा पुर्याउन पाउँदा आफूलाई गर्व लागेको बताउनुभयो । उहाँले नेपालको पर्यटन विकासको लागि हिमाल र लुम्बिनी प्रशिद्ध गन्तव्यका साथसाथै नेपाली कला, संस्कृति,पकवान सबैको उत्तिकै महत्व रहेको बताउनुभयो। सेफ साहले आफ्नो साथमा आएको टीमलाई पुनः नेपाल आउन र आफै फेरि नेपाललाई नजिकबाट अनुभव गर्न आग्रह गर्नुभयो।
त्यस्तै सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेजले आफूहरु नेपाल घुम्न, यहाँको कला संस्कृतिको बारेमा जान्न पाउँदा खुशी लागेको बताउनुभयो। उहाँहरुले नेपाल साच्चिकै मौलिक संस्कृति तथा विविधतामा एकता भएको सुन्दर मुलुक रहको प्रतिक्रिया दिँदै नेपाल सबैका लागि प्रिय देश रहेको बताउनुभयो।