
हुम्ला । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सत्ता गठबन्धन आफ्नो फाइदाको लागि मात्र बनेको बताउनुभएको छ ।
उहाँले जनताले गठबन्धन र त्यसमा मिसिएका दललाई राम्रोसँग चिनिसकेको भन्दै अबको चुनावमा नेकपा एमालेलाई कसैले हराउन नसक्ने दाबी गर्नुभएको छ ।
नेकपा एमाले हुम्लाले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले जनताले आस र भर गरेको पार्टी नेकपा एमाले मात्रै रहेको बताउनुभयो ।
आफ्नो फाइदा लिन र देशलाई धोस्त पार्ने गठबन्धन बनेको आरोप लगाउँदै अध्यक्ष ओलीले यस्ता गठबन्धनलाई जनताले चिनिसकेको र जनता एमालेको पक्षमा रहेको जिकिर गर्नुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले एमालेले देशको विकास र जनतालाई सुखी राख्न चाहेको भन्दै जनताकै बल र साथबाट अबको निर्वाचनमा एमाले पहिलो भएर सरकारले चलाउने विश्वास ब्यक्त गर्नुभयो ।
कर्णाली प्रदेश हुम्लामा आयोजित आमसभा अहिलेसम्मकै ठूलो रहेको स्थानीयले बताएका छन् । नेकपा एमालेका अध्यक्ष ओलीले सम्बोधन गरेको दुर्गम क्षेत्रको यस आमसभामा गाउँगाउँबाट सहभागिहरु भेला भएका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर नेकपा एमाले प्रवेश गर्नेहरुलाई अध्यक्ष अोलीले स्वागत गर्नुभएको थियो ।