सत्ता गठबन्धनको जुटेन भागबण्डामा सहमति

काठमाडौं । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरुबिचमा भागबण्डामा सहमति जुट्न सकेन । आज महानगर र उपमहानगरको नेतृत्व भागबण्डा सक्ने भनेपनि भागबण्डामा नै सकस परेको छ ।

६ महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्वबारे टुंगो लगाउन आज बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । आजको बैठकमा दलहरुले आ–आफ्ना दाबी मात्रै पेश गरेका छन् ।

बैठकमा नेकपा माओवादी केन्द्रले भरतपुर महानगर र ४ वटा उपमहानगरमा नेतृत्व दाबी गरेको छ भने एकीकृत समाजवादीले पोखरा महानगर सहित ३ वटा उपमहानगरको प्रमुखमा दाबी गरेको छ । जसपाले पनि वीरगञ्ज महानगर र ३ उपमहानगर आफूले पाउनुपर्ने अडान राखेको छ ।

आजको बैठकमा कांग्रेसले भने कुनै माग नराखेको गठबन्धनको निर्वाचन परिचालन एवं समन्वय समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभएको छ । उहाँका अनुसार अझै दलहरुबिचको छलफल आवश्यक देखिएका तत्कालै टुङ्गिन केहि समय लाग्ने देखिएको छ ।

चुनावी तालमेलबारे नीतिगत निर्णय केन्द्रबाट भए पनि मुख्य निर्णय भने स्थानीय संयन्त्रले नै गर्नुपर्ने बताउनुभएका पौडेलले केन्द्रले सबै ठाउँको निर्णय नगरि समस्या भएका क्षेत्रमा मात्रै गाँठो फुकाउने बताउनुभयो ।

उहाँले नेकपा एमाले बलियो भएको स्थानमा गठबन्धनले स्पष्ट निर्णय लिने र अन्यत्र गठबन्धनका हलहरुबिच नै स्वस्थ प्रतिस्पर्धा हुनसक्ने बताउनुभयो । गठबन्धनको आजको बैठकबाट सहमति नजुटेपछि भोली शीर्ष नेताहरूको बैठक बसेर सहमति जुटाउने प्रयत्न हुने भएको छ ।

Back to top button