अध्यक्षकप क्रिकेटको उपाधी जहदा– ४ लाई

विराटनगर । मोरङको जहदा गाउँपालिकामा सम्पन्न ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को विजेताको उपाधी ४ नम्बर वडाले जितेको छ ।

आयोजक लक्ष्मिनिया युवा क्लबलाई १५ रनले पराजित गर्दै जहदा–४ ले टुर्नामेन्टको उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–४ ले निर्धारित २० मध्ये १९ औं ओभरमा सबै विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो ।

१६६ रनको लक्ष्य पाएको लक्ष्मिनिया युवा क्लब १७ औं ओभरमा सबै विकेट गुमाउँदै १५१ रनमा सिमित बन्न पुग्यो । खेलको ‘म्यान अफ द म्याच’ जहदा–४ का रबिन मण्डल हुनुभयो ।

टुर्नामेन्टको ‘म्यान अफ द सिरिज’ उप–विजेता लक्ष्मिनिया युवा क्लबका अभिषेक सिहं, बेस्ट बलर सोहि क्लबका निरञ्जन अधिकारी, बेस्ट क्याच विजेता टीम जहदा–४ का विशाल मण्डल र बेस्ट फिल्डर सोही टीमका चन्दन सिंह घोषित हुनुभयो ।

हिजो सम्पन्न फाईनल खेलमा विजेता टीमले नगद ३१ हजार र उप–विजेता टीमले नगद २१ हजार रुपैयाँसहित मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

प्रदेश– १ स्वास्थ्यमन्त्री जयराम यादव तथा जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले विजेता र उप–विजेता टीमलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

Back to top button