
विराटनगर । विराटनगरमा प्रदेश एक स्तरीय स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सम्वाद कार्यक्रम हुने भएको छ । लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा कार्यक्रम हुने भएको हो ।
उद्योग संगठन मोरङमा भोली विहान ११ बजेदेखि साँझ ६ बजेसम्म हुने कार्यक्रममा विभिन्न ३ फरक सेसनहरु सञ्चालन हुने बताइएको छ । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै स्टार्टअप, इन्नोभेसन तथा आईडिया प्रद्धर्शनीको कार्यक्रम रहने जनाएको छ ।
यस्तै आईडिया पिचिङ एण्ड मेन्टरिङ सेसन र डिजिटल प्रदेश संवाद कार्यक्रमको आयोजना हुने कार्यक्रम सयोजक राजन लम्सालले जानकारी दिनुभएको छ । सातै प्रदेशमा आयोजना भइरहेको कार्यक्रम यस अघि पोखरा, बुटवल र विरगञ्जमा सम्पन्न भइसकेको लम्सालले बताउनुभयो ।
हरेक प्रदेशबाट कम्तिमा ५ उत्कृष्ट स्टार्टअप तथा आइडिया छनौट गरी काठमाडौंमा सञ्चालन हुने विजनेश इन्क्युवेसनमा सहभागी गराइने उहाँले जानकारी दिनुभयो । उत्कृष्ट स्टार्टअपले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेछन् भने आइसिटी अवार्ड २०२२ मा सम्मान प्राप्त गर्नेछन । उद्यमशिलता विकासको लागि यो कार्यक्रम महत्वपूर्ण प्लाटफर्म हुने आयोजकले विश्वास लिएको छ ।
यसैगरी बिराटनगरमा डिजिटल रुपान्तरणको लागि डिजिटल प्रदेश संवाद कार्यक्रम , स्थानिय, प्रदेश सरकार, नीजि क्षेत्र र सरोकारवालाहरुबिच अन्तरक्रियामा २ वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।
प्रदेशमा भईरहेको डिजिटल तथा ई–गभर्नेन्सका काम, परिवर्तन, अभ्यास, नीति, योजना तथा आगामी कार्यदिशामाथि सम्बन्धित क्षेत्रका सार्वजनिक तथा निजी सरोकारवालाहरुसँग छलफल गरेर डिजिटल ईकोसिस्टमको लागि आधार तयार गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
स्टार्टअप एण्ड आइडिया फेस्टले स्थानिय नवप्रवर्तक तथा इन्नोभेटरलाई प्रवद्र्धन गर्न, आवश्यक लगानी जुटाउन र प्रदेशमै आइटी उद्यमशिलताको विकासको लागि सघाउ पुग्ने आयोजकको विश्वास छ ।