आउँदो चुनाव जित्नका लागि गठबन्धन गर्नु पार्टीको हितविपरित छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आउँदो चुनाव जित्नकै लागि गठबन्धन गर्ने कुरा पार्टीको हितविपरित रहेको बताउनुभएको छ ।

आज नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ४ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनाव जितिसके पछि बहुमत नपुग्दा तालमेल गरेर सरकार बनाउने कुरा संसदीय प्रणालीमा स्वाभाविक भए पनि निर्वाचन अघि तालमेल गरेर जित्नकै लागि चुनावमा जाने कुरा अस्वाभाविक रहेको बताउनुभएको हो ।

उहाँले कांग्रेसका देश भरिका नेता कार्यकर्ता गठबन्धनको विपक्षमा रहेको पनि बताउनुभयो। ‘नेपाली कांग्रेसका देशै भरिका साथीहरू कोही पनि तालमेलको पक्षमा हुनुहुन्न, पार्टीका साथीहरू पनि हुनुहुन्न, समर्थक पनि हुनुहुन्न, शुभचिन्तक पनि हुनुहुन्न, मतदाता पनि हुनुहुन्न’, उहाँले भन्नुभयो।

राजनीति विचारसँग जोडिएको विषय भन्दै उहाँले बरु निर्वाचनमा हार बेहोर्न तयार हुनुपर्ने तर विचार त्याग्न नसकिने प्रष्ट पार्नुभयो। पार्टीका तलका समितिले यस्तो निर्णय गर्दा गर्दै जबरजस्ती मिलेर जानुपर्छ भन्ने कुराले पार्टीको हित नहुने थापाको दाबी छ। यसमा पार्टी नेतृत्वले सोच्ने बेला आएको पनि उहाँको भनाइ छ।

यस्तै गठबन्धनकै कारण उम्मेदवारको निर्णय गर्न समेत ढिलाइ भएको थापाको भनाइ छ।

Back to top button