असारमसान्त सम्मको लागि इन्धन खर्चमा २० प्रतिशत कटौती

काठमाडौं। सरकारले आगामी असार मसान्तसम्म इन्धन खर्चमा २० प्रतिशत कटौती गर्ने भएको छ ।

सरकारका मन्त्रालय, विभिन्न निकाय तथा सार्वजनिक संस्थाले इन्धन शीर्षकमा गर्दै आएको खर्चमा असार मसान्तसम्मका लागि २० प्रतिशतले कटौती गरिने भएको हो ।

अर्थमन्त्रालयले आज सूचना जारी गर्दै इन्धन खर्च २० प्रतिशतका दरले असार मसान्तसम्म कटौती गर्नुपर्ने जनाएको हो । देशमा रेमिट्यान्स कम भएको, व्यापार घाटा बढेको र विदेशी मुद्राको सञ्चिति कम हुँदै गएको अवस्थामा मन्त्रिपरिषद्को चैत ३० गते बसेको बैठकले इन्धन खर्च कटौती गर्ने निर्णय गरेको थियो ।

छुट्टै ऐनअनुसार इन्धन खर्च सुविधा लिइरहेका पदाधिकारीको हकमा पनि यो व्यवस्था लागु हुने मन्त्रालयले जनाएको छ । तर, विकास आयोजना, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र स्थानीय निर्वाचन प्रयोजनाका लागि इन्धन खर्च कटौती नहुने पनि मन्त्रालयले जनाएको छ ।

Back to top button