आज बेलुकासम्म गठबन्धनमा भागबण्डा मिल्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै भागबण्डा मिल्ने बताउनुभएको छ ।

उहाँले गठबन्धनमा रहेको एउटा दलको हैसियतमा पनि देशभरका ६ मध्ये एउटा महानगर त माओवादी केन्द्रलाई पनि त चाहियो होला नि भन्दै प्रश्न गर्नुभएको छ ।

भरतपुर नै माओवादी केन्द्र र मेयर रेणु दाहाललाई नै भन्ने बिषयप्रति लक्षित गर्दै उहाँले देशका जुनसुकै महानगर दिएपनि हुने बताउनुभयो । तर अहिले भरतपुरमा माओवादी केन्द्रबाट रेणु दाहाल मेयर भएका हिसाबले पनि सबै दलको बुझाई माओवादीलाई दिँदा सहज होला भन्ने आफुले बुझेको बताउनुभयो ।

आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली कांग्रेसले तीन वटा महानगर राखेर माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपालाई एक एक वटा महानगर दिँदा सहमति कायम हुने विश्वास ब्यक्त गर्नुभयो ।

पत्रकारहरुको जिज्ञासामा उहाँले सहमति कायम नभए, जुन–जुन दलबिच सहमति हुन्छ ति सँग मिल्ने त्यसो नहुँदा पनि माओवादी केन्द्र एक्लैपनि चुनावमा जाने बताउनुभयो । आफ्नो प्रस्तावमा कांग्रेस पनि सकारात्मक भएको भन्दै उहाँले आजै बेलुकासम्म महानगर र उपमहानगरको बिषय टुङ्गो लाग्ने उहाँले बताउनुभयो ।

यस्तै अध्यक्ष प्रचण्डले निर्वाचन नसर्ने बताउनुभएको छ । निर्वाचन सर्ने प्रयास अनुमान मात्र भएको भन्दै उहाँले भन्नुभयो,‘निर्वाचन सर्दैन । गठबन्धनमा निर्वाचन सार्नेबारे कुनै छलफल भएको छैन । हामी निर्वाचनमा केन्द्रित भएर लागेका छौं ।’

Back to top button