
काठमाडौं । बिहीबार प्रदर्शनमा आएको नेपाली फिल्म ‘ए मेरो हजुर ४’ ले साढे २ करोडभन्दा माथि कारोबार गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले गएका ४ दिनमा साढे २ करोडको आँकडा पार गरेको हो।
बहुप्रतीक्षित कन्नड फिल्म ‘केजिएफ च्याप्टर २’ सँग प्रदर्शन मिति जुधेका कारण फिल्मले व्यावसायिक सफलता हात पार्नेमा धेरैले आशंका गरेका थिए। तर तुलनात्मक रुपमा कम शो पाएको फिल्मले पहिलो दिन नै ८८ लाखभन्दा माथिको कारोबार गर्न सफल भएको थियो। फिल्मले दोस्रो दिन ६६ र तेस्रो दिन ८९ गरी ३ दिनमा २ दशमलव ४३ करोडको कारोबार गरेको थियो।
हिजोको बक्स अफिस कलेक्सन भने सार्वजनिक भइसकेको छैन। फिल्मले हिजो साढे २ करोडको आँकडा पार गर्दै ३ करोडको नजिक पुगेको निर्माण टोलीले जनाएको छ। यही रफ्तारमा जाने हो भने फिल्मले पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर नाफामा जाने देखिएको छ। निर्माण टोलीका अनुसार फिल्मको बजेट साढे २ देखि ३ करोड रहेको छ।
झरना थापाको निर्देशन तथा सुनिलकुमार थापाको निर्माणमा बनेको यस रोमान्टिक फिल्ममा अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका देखिएको छ ।