मोरङमा गठबन्धनको कार्यदलले मिलाउन सकेन भागबण्डा

विराटनगर । मोरङमा स्थानीयतहको निर्वाचनका लागि भागबण्डा मिलाउन गठित कार्यदलले सहमति जुटाउन नसकेपछि प्रतिवेदन प्रदेश र केन्द्रलाई बुझाएको छ ।

गठबन्धनले कार्यदलका लागि चार सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा सहमति नजुटेपछि गठबन्धन नै अनिश्चित बन्न पुगेको छ ।

कार्यदलमा गत बिहिबारदेखि शनिबारसम्म पटक– पटक छलफल भएपनि केन्द्रले दिएको निर्देशन अनुसार सहमति जुट्न नसकेको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बताउनुभयो । यहाँ सहमति नभएपछि प्रतिवेदन केन्द्र र प्रदेशमा पठाइएको छ ।

केन्द्र र प्रदेशले स्पष्ट निर्देशन नदिए दलहरू आ–आफ्नै शैलीमा अघि बढ्ने अवस्था रहेको भन्दै उहाँले स्पष्ट निर्देशनपछि थप छलफल अघि बढ्न सक्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासले दलहरूले अडान नछाड्दा गठबन्धनमा सहमति हुन नसकेको हो । कार्यदलको बैठकमा मोरङमा रहेका १७ पालिकामध्ये नेपाली कांग्रेसले ११, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी पार्टीले ४ र जसपाले ३ पालिकामा नेतृत्वका लागि दाबी प्रस्तुत गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट जिल्ला उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट मोरङ संयोजक विजय विश्वास, एकीकृत समाजवादीबाट डाक्टर उद्धव पोखरेल र जसपाबाट जिल्ला अध्यक्ष राजकुमार यादव रहनुभएको थियो ।

२०७४ सालमा कांग्रेसले १० वटा पालिका जितेको थियो । जसपा र माओवादी केन्द्रले १–१ वटा पालिका जित्दा एमालेले पाँचवटा पालिका जितेको थियो ।

Back to top button