
सोलखुम्बु । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।
आज सोलुखुम्बुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बसेर षड्यन्त्र गरिरहेको बताउनुभएको छ ।
अध्यक्ष ओलीले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भनिसकेको स्मरण गराउँदै भन्नुभयो,‘आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् ।’ अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको र आफू त्यसैतर्फ लागिरहेको बताउनुभएको छ ।
यस्तै अध्यक्ष ओलीले विप्लवलाई सूर्य चिह्नबाट चुनाव लड्न प्रस्ताव गर्दै चुनाव सार्ने गठबन्धनको मतियार नबन्न आग्रह गर्नु भएको छ । ‘चुनाव सुन्नेबित्तिकै गठबन्धनको सातो जान्छ ।
गठबन्धनले त चुनाव मिति घोषणा गर्न चाहेकै थिएन’ अध्यक्ष ओलीले भन्नुभयो,‘अहिले पनि सार्ने षड्यन्त्र गरिरहेका छन् ।’ चल्ला पार्छ कि पार्दैन बेग्लै कुरा हो तर अण्डा उफारिरहेको भन्दै उहाँले चुनाव सार्न विप्लवलाई अगाडि सारेको बताउनुभएको छ ।
विप्लवलाई आफुले नै खुला राजनीतिमा ल्याएको भन्दै उहाँले अहिले गठबन्धनको मतियार र हतियार नबन्न आग्रह गर्नुभयो ।