विराटनगरमा आगलागी चार पसल जलेर नष्ट, तीन जना अग्नि नियन्त्रक घाइते

विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित अस्पताल चोकमा गएराति आगलागी हुँदा चार वटा पसल जलेर नष्ट भएका छन् ।राति १२ बजे भएको आगलागीबाट कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको हो ।

आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा बिहान २ बजे नियन्त्रणमा आएको हो । आगलागीको कारण र क्षतिको एकिन विवरण प्राप्त भइसकेको छैन ।

आगलागी नियन्त्रणका क्रममा तीन जना अग्नि नियन्त्रक घाइते हुनुभएको छ । विराटनगर महानगरपालिकाका बारुणयन्त्रका अग्नि नियन्त्रक हवल्दार भीमबहादुर बिष्ट, जवानहरू अशेष दाहाल र प्रेमकुमार राजवंशी घाइते भएका हुनुभएको हो ।

आगलागी नियन्त्रणका क्रममा अचानक ग्याँस सिलिण्डर बिस्फोट हुँदा उहाँहरूलाई आगोले पोलेको विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो । घाइते अग्नि नियन्त्रकहरूको म्याक्स अस्पतालमा उपचार भइरहेको छ ।

Back to top button