भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीले बिशेष छुट पाउने

काठमाडौं । भारतको उत्तराखण्डमा अब नेपाली विद्यार्थीले बिशेष छुट पाउने भएका छन् । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँगको भेटमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताउनुभएको हो ।

एमालेका नेता तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उहाँले नेपालबाट उत्तराखण्ड आउने विद्यार्थीलाई छुट उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री धामी र पूर्वमन्त्री बस्नेतले आज एकअर्कालाई तुलसीको बिरुवा आदानप्रदान गरेर शुभकामना दिनुभएको थियो । भेटघाटका क्रममा नेपाल र उत्तराखण्ड तथा विशेषगरी सुदूरपश्चिम क्षेत्रको हितका विषयमा छलफल भएको मुख्यमन्त्री धामीका स्वकीय सचिव भुवन तिवारीले जानकारी दिनुभयो ।

त्यसक्रममा धार्मिक पर्यटन र महाकाली नदीमा दुई देशका जनताबीच देखिएको पारवहन, यातायात समस्या र सिँचाइको समस्या तथा तुइन काटिएर महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीका विषयमा समेत कुराकानी भएको उहाँले उल्लेख गर्नुभयो ।

भेटका क्रममा मुख्यमन्त्री धामीले पशुपतिनाथ र केदारनाथको शिर डोलेश्वर महादेवको दर्शन गर्न नेपाल आउने इच्छा व्यक्त गरेको स्वकीय सचिव तिवारीले जानकारी दिनुभयो । हालै भारतीय जनता पार्टीका तर्फबाट धामी दोस्रो पटक मुख्यमन्त्री हुनुभएको हो ।

Back to top button