गुणस्तरीय कानून निर्माणमा संसदको भूमिका विशिष्ट हुन्छ: सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको सचेत पहलकदमीले गुणस्तरीय कानून निर्माणमा विशिष्ट भूमिका खेल्ने बताउनुभएको छ ।

लुम्बिनी प्रदेशसभाको आयोजनामा लुम्बिनीमा आज देखि शुरु भएको अन्तर व्यवस्थापिका अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।

उहाँले कानून निर्माण गर्दा थुप्रै छिद्रहरु रहने र तिनै छिद्रहरुमा खेल्दै कानूनको आफूखुशी व्याख्या गर्ने कार्यले जनतालाई दुःख दिने, सीमित वर्ग एव‌ं शक्तिले फाइदा उठाउने गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामीले कानून निर्माण गर्दा कयौँ छिद्रहरु रहँदा रहेछन्। हामी कानून निर्माणको जिम्मेवारीमा छौँ, हामीले बनाएका कानूनका छिद्रहरुको साहारा लिएर बदमासहरूले फाइदा उठाउँदा रहेछन्, सोझा सिधा जनतालाई दुःख दिँदा रहेछन्। हामीले त्यस्ता कानूनका छिद्रहरु नराखेर गुणस्तरीय कानून निर्माण गर्न सक्यौँ भने गलत तत्वले फाइदा उठाउन सक्दैनन्।’

सभामुख सापकोटाले कानून निर्माण गर्दा सचेतता अपनाउन नसके त्यसको परिणाम नराम्रो हुने भन्दै संसद र त्यसको नेतृत्व सधैँ सजग, सचेत र सतर्क रहनुपर्नेमा जोड दिनुभयो।

उहाँले भन्नुभयो, ‘कानून शो केसमा सजाउने वस्तु होइन, त्यसलाई कार्यान्वयन गर्नुपर्छ। कानून कार्यान्वयन भइरहेको छ कि छैन? भएको भए कसरी भइरहेको छ भन्ने विषयमा संसदीय निगरानी गर्ने दायित्व पनि हाम्रै हो, संसदको हो ।’

उहाँले आफू संघीय संसदको नेतृत्वमा आएपछि संसदलाई जीवन्त र जनमुखी बनाउने अभियानमा प्रतिबद्ध भएर लागेको बताउनुभयो।

सुशासनको मुख्य बाधकको रुपमा भ्रष्टाचार रहेको भन्दै कानून निर्माण र कार्यान्वयनमा खबरदारी गर्दै भ्रष्टाचारका विरुद्ध लड्ने जिम्मेवारी पनि संसदकै रहेको उहाँले जिकिर गर्नुभयो।

‘भ्रष्टाचार सामान्य बजेट हिनामिना मात्रै होइन, हिसाब किताब बिगार्ने कुरा मात्रै होइन’, उहाँले भन्नुभयो,‘यसलाई नियन्त्रण गर्न सकेनौँ भने देशलाई नै सखाप पार्छ। राष्ट्रियतालाई नै समाप्त पार्न सक्छ। त्यसैले भ्रष्टाचारविरुद्ध लड्न हामीले सामूहिक संकल्प गर्नुपर्दछ।’

प्रदेश सभा नेपालको हकमा पहिलो अभ्यास भएको चर्चा गर्दै प्रदेशको नेतृत्वलाई अवसर र चुनौति दुवै रहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘तपाईहरुले प्रदेश सभाको नेतृत्व गरिरहनुभएको छ, यो तपाईहरुको लागि अवसर पनि हो र चुनौति पनि। प्रदेशमा कानून निर्माणका लागि विज्ञ, दक्ष जनशक्ति वा स्रोत सामग्रीको समस्या होला तर तपाईहरु त्यत्तिकै स्वतन्त्र पनि हुनुहुन्छ। पहिलो हुनुको नाताले तपाईहरुले गरेका हरेक अभ्यास, शिक्षा र गतिविधिलाई ठीक ढंगले लिपिबद्ध गर्न सक्नुभयो भने त्यो भावी नेतृत्वका लागि राम्रो मार्गदर्शन बन्न सक्छ।’

Back to top button