अर्थमन्त्रीलाई राजिनामा दिन कांग्रेस महामन्त्रीको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घुमाउरो शैलीमा अर्थमन्त्री जनार्दन शर्मालाई राजिनामा दिन सुझाव दिनुभएको छ । पूर्व–अर्थमन्त्री महेश आचार्यलाई स्मरण गर्दै महामन्त्री शर्माले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव दिनुभएको हो ।

महामन्त्री शर्माले ट्वीटरमा लेख्नुभएको छ, ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्। नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति । समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो।’

पूर्व–अर्थमन्त्री महेश आचार्यले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिएको बताउँदै उहाँले अर्थमन्त्री शर्मालाई पनि सोहि बाटो अवलम्बन गर्न सुझाव दिनुभएको छ । हिजो सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

अदालतले कारबाही गर्नुको कारण पनि सरकारसँग माग गरेको छ। गभर्नर अधिकारीले आफूलाई गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रहरूपमा जाँचबुझ समिति गठन गरी निलम्बन गरिएको भन्दै त्यसको खारेजी माग गरी रिट दायर गर्नुभएको थियो । गत चैत २४ मा मन्त्रिपरिषदको बैठकको निर्णयसँगै गभर्नर अधिकारीलाई निलम्बनमा पर्नुभएको थियो ।

Back to top button