गठबन्धनको निर्णय विरुद्ध कास्की कांग्रेसद्धारा पार्टी कार्यालयमा तालाबन्दी

पोखरा । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णय गरिएपछि नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेस पोखरा महानगरका सचिव गणेशबहादुर थापाले कांग्रेस कार्यकर्तालाई अपमान हुने गरी एकीकृत समाजवादीलाई मेयर दिने निर्णय नसच्याउँदासम्म ताला नखोल्ने बताउनुभएको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा महानगर कमिटी, वडा कमिटी र पदाधिकारीको बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो ।

केन्द्रको निर्णयविरूद्ध विद्रोह हुने बताउँदै थापाले स्वतन्त्र उम्मेदवारी भए पनि दिने विषयमा बैठकमा छलफल हुने बताउनुभयो । गएको सोमबार नै एकिकृत समाजवादीले हैसियत भन्दा ठूलो भाग खोजेको भन्दै कांस्की कांग्रेसले गठबन्धन नगर्ने र मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय गरेको थियो ।

कास्की कांग्रेसको निर्णय र गठबन्धनको दवावमा पर्नुभएका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले काकस्कीका नेताहरुलाई काठमाडौं बोलाएर समस्या बुझ्न र गठबन्धनलाई जिताउन निर्देशन दिनुभएको थियो ।

पाँच दलीय सत्ता गठबन्धनको हिजो बसेको बैठकमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई दिने सहमति जुटाएको थियो । नेकपा एकीकृत समाजवादीको कास्की जिल्ला कमिटीले पोखरा महानगरपालिकाको मेयर उम्मेदवारका लागि दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको छ ।

Back to top button