चोरिएका मूर्तिसहित काठमाडौंबाट दुईजना पक्राउ

काठमाडौं । चोरिएका मूर्तिसहित काठमाडौं प्रहरीले दुईजनालाई आज पक्राउ गरेको छ। काठमाडौंको नागार्जुन नगरपालिका–७ इन्द्रायणी मन्दिरबाट सोमबार बिहान हराएका मूर्तिसहित दुईजना पक्राउ परेका हुन्।

हाल काठमाडौं महानगरपालिका–१४ कलंकी खड्कागाउँ बस्दै आएका सिन्धुलीको दुधौली नगरपालिका–४ डाँकाबजारका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका–४ का ५६ वर्षीय कान्छा मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले चोरीका मूर्तिसहतिका सामानका साथमा उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट तामाको कलश ३ थान, अर्ग १ थान, पित्तलको सानो घण्टी १ थान, सेतो शंङ्ख १ थान, माटोको गणेशको मूर्ति १ थान, शिवलिङ्ग २ थान, सिल्भरको शिव, पार्वती र गणेशको मूर्ति २ थान, किटको शिव, पार्वती र गणेशको मूर्ति १ थान, श्रीकृष्णको मूर्ति १ थान, शिवको मूर्ति १ थान र दुर्गा माताको मूर्ति १ थान बरामद गरिएको छ ।

यस्तै, जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Back to top button